सोमबार १४ बैशाख, २०८३ | Monday Apr 27, 2026
युनिकोड

कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम् सीमा घटाइयो, ऊर्जा, पर्यटन, सुचना प्रविधिमा न्यूनतम २० प्रतिशतको थ्रेसहोल्ड

कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम् सीमा घटाइयो, ऊर्जा, पर्यटन, सुचना प्रविधिमा न्यूनतम २० प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं । 

वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम् सीमा घटाइएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन संसोधन गर्दै कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम सीमा घटाएको हो । नयाँ सीमा २०८३ पुसदेखि लागू हुनेछ ।

यसअघि कृषि क्षेत्रमा २०८२ असारसम्म ११ प्रतिशत, २०८२ असारसम्म १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नैपर्ने व्यवस्था थियो । तर, २०८३ पुसपछि कृषि क्षेत्रमा न्यूनतम् १० प्रतिशत मात्रै कर्जा प्रवाह गरे पुग्ने गरि एकीकृत निर्देशन संसोधन गरिएको छ । 

राष्ट्र बैंकले तोकिएको सीमामा कर्जा प्रवाह नगरेमा जरिवाना लाग्छ । तर, पछिल्लो समय कृषि क्षेत्रबाट कर्जाको माग न्यून हुँदा बैंकहरूलाई तोकिएको सीमा पुरा गर्न गाह्रो भइरहेको थियो । त्यसपछि राष्ट्र बैंकले त्यसमा लगाएको सीमा घटाएको हो । 

‘२०८३ पुस मसान्तदेखि न्यूनतम १० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नु पर्नेछ,’ एकीकृत निर्देशनमा भनिएको छ । 

यस्तै, ऊर्जा र लघु, घरेलु तथा मझौला उद्यम सहित पर्यटन, सुचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारीत निर्यात उद्योगलाई एकै ठाउँमा राखेर न्यूनतम २० प्रतिशतको सीमा तोकिएको छ । यसअघि ऊर्जा र लघु, घरेलु तथा मझौला उद्यममा छुट्टा छुट्टै सीमा तोकिएको थियो । 

ऊर्जामा २०८१ असारसम्म ६.५ प्रतिशत, २०८२ असारसम्म ७ प्रतिशत, २०८३ असारसम्म ८ प्रतिशत, २०८४ असारसम्म १० प्रतिशतको अुनपातमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था थियो । यसैगरि लघु, घरेलु तथा मझौला उद्यमतर्फ २०८२ असारसम्म ११ प्रतिशत, २०८३ असारसम्म १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ सम्म १५ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था थियो । पर्यटन, सुचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारीत निर्यात उद्योगमा न्यूनतम् कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था थिएन । तर, अब यी सबै क्षेत्रलाई एक ठाउँमा राखेर न्यूनतम २० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । यो पनि २०८३ पुसदेखि लागू हुनेछ । 

कृषि क्षेत्रमा बढी भएको कर्जा प्रवाहलाई अर्काे शीर्षकमा गणना गर्न पाउने व्यवस्था पनि गरिएको छ । 

यस्तै, विकास बैंकले कृषि, ऊर्जा, लघु, घरेलु तथा मझौला उद्यम, पर्यटन, सुचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारीत निर्यात उद्योगमा २०८३ देखि न्यूनतम् २० प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । यसमा वित्त कम्पनीलाई भने न्यूनतम १५ प्रतिशतको सीमा तोकिएको छ । 

तोकिएको सीमा पुरा गर्ने प्रयोजनका लागि बैंकहरूले यस्ता कर्जाको खरिद–बिक्री पनि गर्न सक्नेछन् । 

सम्वन्धित समाचार