सोमबार १४ बैशाख, २०८३ | Monday Apr 27, 2026
युनिकोड

२८ खर्ब ७८ अर्ब पुग्यो सरकारको ऋण, डलरको मूल्यवृद्धिले थप्यो एक खर्बको बोझ

२८ खर्ब ७८ अर्ब पुग्यो सरकारको ऋण, डलरको मूल्यवृद्धिले थप्यो एक खर्बको बोझ

काठमाडौं । 

नेपाल सरकारले तिर्नपुर्ने सार्वजनिक ऋणको आकार पौने २९ खर्ब रूपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकले सरकारको सार्वजनिक ऋणको आकार २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रूपैयाँ पुगेको देखाएको हो । 

चालु आर्थिक बर्ष २०८२–८३ को आठ महीनामा मात्रै सार्वजनिक ऋण दुई खर्ब चार अर्ब २४ करोड ९० लाख रूपैयाँले बढेको छ । गत असारसम्म सार्वजनिक ऋणको आकार २६ खर्ब ७४ अर्ब चार करोड ७७ लाख रूपैयाँ थियो । चालु आवको आठ महीनामा सरकारले तीन खर्ब ४६ करोड रूपैयाँ ऋण प्राप्ती गरेको छ । त्यसमा एक खर्ब ९४ अर्ब १९ करोड ९६ लाख रूपैयाँ साँवा भुक्तानी गरिएको छ । तर, विदेशी मुद्रामा आएको बृद्धिले सार्वजनिक ऋणमा ९७ अर्ब ९८ करोड १५ लाख रूपैयाँको अतिरिक्त दायित्व थपेको छ । यसरी फागुन मसान्तसम्म आउँदा ऋणको आकार २८ खर्ब ७८ अर्ब २९ करोड रूपैयाँ पुगेको हो । जुन नेपालको जीडीपीको तुलनामा ४७.१३ प्रतिशत हो । 

समीक्षा अवधिमा विदेशी ऋणको आकार १५ खर्ब ३० अर्ब १८ करोड १० लाख रूपैयाँ पुगेको छ । गत असारसम्म विदेशी ऋणको आकार १४ खर्ब पाँच अर्ब ८२ करोड ३६ लाख रूपैयाँ थियो । यस अवधिमा सरकारले ५६ अर्ब ८० करोड तीन लाख रूपैयाँ विदेशी ऋण प्राप्ती गर्दा ३० अर्ब ४२ करोड ४३ लाख रूपैयाँ भुक्तानी गरेको छ । त्यसमा विदेशी मुद्रामा आएको बृद्धिले दायित्व ९७ अर्ब ९८ करोड १५ लाख रूपैयाँ थपिएको छ । यसरी विदेशी ऋणको आकार १५ खर्ब ३० अर्ब १८ करोड १० लाख रूपैयाँ पुगेको हो । 

विदेशी ऋण विदेशी मुद्रामै भुक्तानी गर्नुुपर्छ । त्यो अवस्थामा विदेशी मुद्राको मूल्य बढ्दा दायित्व थपिने र घट्दा दायित्व घट्ने हुन्छ । 

यस्तै, आन्तरीक ऋणको आकार १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रूपैयाँ पुगेको छ । गत असारसम्म आन्तरीक ऋणको आकार १२ खर्ब ६८ अर्ब २२ करोड ४१ लाख रूपैयाँमा थियो । चालु आवको आठ महिनामा सरकारले दुई खर्ब ४३ अर्ब ६६ करोड ६९ लाख रूपैयाँ आन्तरीक प्राप्ती गरेको छ । तर, एक खर्ब ६३ अर्ब ७७ करोड ५३ लाख रूपैयाँ आन्तरीक ऋणको साँवा भुक्तानी गरेको छ । यसरी आन्तरीक ऋणको आकार १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रूपैयाँ पुगेको हो । 

लक्ष्यको ५०.४४ ऋण प्राप्ती, विदेशी ऋण प्राप्ती कम्जोर

आठ महिनामा आउँदा सरकारले लक्ष्यको आधा मात्रै ऋण परिचालन गरेको छ । सरकारले यो बर्ष पाँच खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रूपैयाँ ऋण उठाउने लक्ष्य लिएको थियो । त्यसमा आन्तरीकतर्फ तीन खर्ब ६१ अर्ब र बाह्यतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रूपैयाँ ऋण उठाउने लक्ष्य थियो । तर, हालसम्म आन्तरीकतर्फ ६७.३१ प्रतिशत र वाह्यतर्फ २४.३१ प्रतिशत ऋण प्राप्ती भएको छ । आन्तरीकतर्फ दुई खर्ब ४३ अर्ब ६६ करोड ६९ लाख रूपैयाँ र बाह्यतर्फ ५६ अर्ब ८० करोड रूपैयाँ गरेर कुल तीन खर्ब ४६ करोड ७२ लाख रूपैयाँ प्राप्ती भएको छ । जुन लक्ष्यको ५०.४४ प्रतिशत हो । 

अब बाह्यतर्फ एक खर्ब ७६ अर्ब ८६ करोड रूपैयाँ र आन्तरीक तर्फ एक खर्ब १८ अर्ब ३३ करोड ३१ लाख रूपैयाँ गरेर दुई खर्ब ९५ अर्ब १९ करोड रूपैयाँ ऋण उठाउन बाँकी छ । आन्तरीकतर्फ लक्ष्यअनुसार नै ऋण प्राप्ती हुने देखिएपनि विदेशी ऋण प्राप्तीमा भने सरकार कम्जोर देखिएको छ । 


ब्याज सहित सरकारले तिर्यो दुई खर्ब ४२ अर्ब 

समीक्षा अवधिमा सरकारले ब्याजसहित दुई खर्ब ४२ अर्ब २६ करोड ८६ लाख रूपैयाँ ऋण तिरेको छ । त्यसमा साँवा एक खर्ब ९४ अर्ब १९ करोड ९६ लाख रूपैयाँ र ब्याजतर्फ ४८ अर्ब ६ करोड ९१ लाख रूपैयाँ भुक्तानी भएको छ । आन्तरीकतर्फ एक खर्ब ६३ अर्ब ७७ करोड ५३ लाख रूपैयाँ र ४१ अर्ब दुई अर्ब ६३ करोड ब्याज गरेर दुई खर्ब चार अर्ब ८० करोड १६ लाख रूपैयाँ भुक्तानी भएको छ । 

यस्तै, बाह्यतर्फ ३० अर्ब ४२ करोड ४३ लाख रूपैयाँ र सात अर्ब चार करोड २८ लाख रूपैयाँ गरेर ३७ अर्ब ४६ करोड ७१ लाख रूपैयाँ भुक्तानी भएको छ । 

सरकारले यो बर्ष तीन खर्ब दुई अर्ब ४७ करोड ७३ लाख रूपैयाँ साँवा र एक खर्ब आठ अर्ब ५३ करोड ३० लाख रूपैयाँ ब्याज गरेर चार खर्ब ११ अर्ब एक करोड तीन लाख रूपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ५८.९४ प्रतिशत भुक्तानी भएको तथ्यांकमा देखिन्छ ।


सम्वन्धित समाचार