काठमाडौं ।
माघ महिनामा नेपालको मुद्रास्फीति अर्थात् मूल्य बृद्धिदर ३.२५ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती विषयक प्रतिवेदनले यस्तो देखाएको हो । यो बिगतका महिनाको तुलनामा बढी हो ।
डलरको मूल्यमा आएको बृद्धि, चुनाव, विश्वमा देखिएको युद्दको क्रास लगायतका कारण महंगी बढेको विज्ञहरु बताउँछन् ।
‘२०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत, र फलफूलको ७.४१ प्रतिशतले बढेको छ ।
तर, दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.९८ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, कपडा जन्य तथा जुत्ता चप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.५१ प्रतिशतले बढेको छ ।
यस्तै, प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, मधेश प्रदेशको ५.१४ प्रतिशत, बागमती प्रदेशको ३.१० प्रतिशत, गण्डकी प्रदेशको २.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.२९ प्रतिशत, कर्णाली प्रदेशको १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।