सोमबार १४ बैशाख, २०८३ | Monday Apr 27, 2026
युनिकोड

झन् बढ्दै छ विदेशी मुद्रा सञ्चिती, १८ महिनाको आयात धान्न पुग्ने

झन् बढ्दै छ विदेशी मुद्रा सञ्चिती, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं । 

माघ मसान्तसम्म आउँदा नेपालसँग रहेको कुल विदेशी मुद्रा सञ्चिति थप बढेर ३२ खर्ब दुई अर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती विषयक प्रतिवेदनले यस्तो देखाएको हो । 

यो गत असार मसान्तको तुलनामा २३.३ प्रतिशतले बढी हो । गत असारमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब रूपियाँ थियो । बढ्दो रेमिट्यान्स आप्रवाहले विदेशी मुद्रा सञ्चिति बढ्दै आएको छ । 

‘२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा ३३ खर्ब २ अर्ब ६६ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ ।’


कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थामा भने तीन खर्ब ७५ अर्ब ६७ करोड सञ्चिति छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।

यो सञ्चितीले १८ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । ‘आर्थिक वर्ष २०८२÷८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । 


सम्वन्धित समाचार