अब बैंकहरुलाई दैनिक स्थायी निक्षेप सुविधा, ब्याजदर थप घट्ने नदिने रणनीति
काठमाडौं । अब केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई दैनिक रुपमा स्थायी निक्षेप सुविधा दिने भएको छ । केन्द्रीय बैंकले मंगलबार एक परिपत्र जारी गर्दै दैनिक रुपमा स्थायी निक्षेप दिने घोषणा गरेको हो । यो व्यवस्था बुधबारदेखि नै लागू हुनेछ । यसअघि हप्तामा तीन दिन स्थायी निक्षेप सुविधा दिने व्यवस्था थियो । बैंकहरुले प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउने व्यवस्था थियो । त्यसमा आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको निक्षेप बिहीबार र बिहीबार जम्मा भएको रकम आइतबार परिपक्व भई व्याज सहित भुक्तानी गरिने व्यवस्था थियो । तर, अब दैनिक रुपमा यस्तो सुविधा दिने राष्ट्र बैंकको भनाइ छ । ‘यस बैंकको मिति २०८३÷०२÷१२ को निर्णयानुसार यस बैंकबाट इजाजतपत्रप्राप्त ‘क’ , ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइदै आएको स्थायी निक्षेप सुविधा मिति २०८३÷०२÷१३ गतेदेखि लागू हुनेगरी यस बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समय भित्र उपलब्ध गराइने र यसरी उपलब्ध गराइएको सुबिधाको साँवा तथा ब्याज रकम भोलिपल्ट अपरान्ह ३ बजे पश्चात् सम्बन्धित संस्थाको खातामा जम्मा गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ केन्द्रीय बैंकको सुचनामा भनिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै यस सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भनेको थियो । त्यसको केही सातामै राष्ट्र बैंकले नयाँ निर्णय गरेको हो । यसले ब्याजदर करिडोर कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।पछिल्लो समय कर्जाको माग न्यून छ । त्यसले गर्दा बैंकहरुले व्याजदर निकै सस्तो बनाएका छन् । अन्तरबैंक कारोबार पनि ब्याजदर करिडोरको भन्दा कम दरमा हुने गरेको छ । त्यो अवस्थामा बैंकहरुमा भएको तरलता केन्द्रीय बैंकमा तानेर ब्याजदरलाई सन्तुलनमा राख्न खोजिएको हो ।